आइएमई लाइफद्वारा नेपालमै पहिलोपटक च्याटबोट सेवा सञ्चालनमा

2020-12-08
आइएमई लाइफद्वारा नेपालमै पहिलोपटक च्याटबोट सेवा सञ्चालनमा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलबारबाट ‘आईएमई लाइफ ३६०– योर भर्चुअल असिस्टेन्ट’ नामक च्याबोट सेवा सञ्चालनमा ल्याएको छ। जीवन बीमा कम्पनीहरुमध्ये यो सेवाको थालनी गर्ने आइएमई लाइफ पहिलो कम्पनी हो ।  

विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरु चुस्त, दुरुस्त र प्रभावकारी बनाउन चौबीसै घन्टा आवश्यक जानकारी उपलब्ध गराउन यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। यसबाट कम्पनीका बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघसंस्थालाई सूचना प्रविधिको उच्चतम प्रयोग गरी कम्पनीबाट प्रदान हुने सेवाहरुका बारेमा सहज ढंगबाट सूचना उपलब्धहुने कम्पनीको दाबी छ।

हाल यो सेवा कम्पनीको वेब साइटमा उपलब्ध रहेको र भविष्यमा कम्पनीको आधिकारिक मोबाइल एप ९आईओएस तथा एन्ड्रोइड० र मेसेन्जरमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। यसबाट मुख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रुपमा लाभान्तिव हुने र बीमासँग चासो राख्ने, बीमाका बारेमा बुझ्न चाहने, कम्पनीका बारेमा बुझ्न चाहने व्यक्ति तथा संघसंस्थाले समेत सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

च्याटबोट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानीसम्बन्धी जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नम्बर परिवर्तनको जानकारी लिन सक्ने र अनुरोध पठाउन सक्ने कम्पनीले जनाएको छ। यसैगरी दाबीभुक्तानी प्रक्रिया, अभिकर्ता कमिसन, बैंक खातालगायतका सबै जानकारी यसमार्फत तत्कालै प्राप्त गर्न र अनुरोध पठाउन सकिने छ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, कार्यालय वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाअन्तर्गत जुनसुकै समस्या वा जिज्ञासा राखी तत्कालै समाधान पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 
 

 


Share this with your friends: