आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश

2021-08-31
आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । “जीवन बीमा जरुरी छ “ भन्ने मूल नाराका साथ अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ भदौ १५ गतेका दिन नेपाली जीवन व्यवसाय क्षेत्रमा प्रवेश गरेको कम्पनीले आफ्नो सञ्चालनको ४ वर्ष सफलतापूर्वक पार गरी ५ औँ वर्षमा प्रवेश गरेको हो । 

रिलायबल नेपाल लाइफ कम्पनी ऐन २०६३ अनुसार वि.स २०६४ साल मंसिर १८ गते स्थापना भएको थियो । अर्थशास्त्री, उद्योगी, बैंकर, र लब्ध प्रतिष्ठित व्यक्तिहरुद्वारा प्रवद्र्धित यो कम्पनीले आफ्नो स्थापनाको छोटो अवधिमै नेपालको एक सफल जीवन बीमा कम्पनीका रुपमा उभिन सफल भएको छ । ग्राहकहरुलाई प्राथमिकतामा राखि सेवा प्रदान गर्दै आईरहेको कम्पनीले बदलियो अवस्था र ग्राहकहरुको सहजता, आवश्यकता र चाहनालाई मध्यजनर गर्दै जीवन बीमासँग सम्बन्धित विभिन्न १२ वटा प्रडक्टहरु पस्किदै आईरहेको छ । 

जसमा रिलायबल समुन्नित जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, रिलायबल धनपति जीवन बीमा, सुलभ जीवन बीमा र सजिलो जीवन बीमा जस्ता प्रडक्टहरु रहेका छन् । कम्पनीले देशभर रहेका ८२ शाखा कार्यालय र १५ हजार ६८८ बीमा अभिकर्तामार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको १७ लाख पोलिसीहोल्डरहरु रहेका छन् ।  

२ अर्ब अधिकृत पूँजी रहेको कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यतिबेला कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत साउन १२ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासनको माग गरेको हो । आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको वित्तीय प्रगति राम्रो देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८८.०१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै चौथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोषको आकार बढेर २ अर्ब ५८ करोड ५१ लाख ५४ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२०.८८ प्रतिशतले बढी हो। यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.९६ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१८.४२ रुपैयाँ रहेको छ । 
कम्पनीको विश्वको अग्रणी पुनर्बीमा कम्पनी हानओभर रि लाइफ इन्स्योरेन्स कम्पनीसँग पुनर्बीमा सम्झौता रहेको छ ।  


Share this with your friends: