ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

2022-03-10
ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र ९लेटर अफ क्रेडिट०, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन्। 

यसका साथै दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायतका सेवाहरुमा सहकार्य हुनेछ। यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू हुनेछ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

त्यसैगरी राष्ट्रियस्तरको ‘ग’ वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ। 


Share this with your friends: