नेपालमा बीमा अभिकर्ताको संख्या ७.६८ लाख पुग्यो, कुन प्रदेशमा कति ?

2022-01-13
नेपालमा बीमा अभिकर्ताको संख्या ७.६८ लाख पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख बढी पुगेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनासम्ममा नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ पुगेको छ । 

तथ्यांक अनुसार सबैभन्दा धेरै अभिकर्ता बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदशमा जीवन बीमा अभिकर्ताको संख्या २ लाख ३३ हजार १०२ रहेको छ । बागमति प्रदेशपश्चात लुम्बिनी प्रदेशमा अभिकर्ताको संख्या धेरै रहेको छ । लुम्बिनी प्रदशमा १ लाख ३१ हजार ५७६ जना जीवन बीमा अभिकर्ता रहेका छन् । अभिकर्ताको संख्या धेरै हुनेको सूचीमा प्रदेश न.१ रहेको छ । प्रदेश न.१ मा १ लाख २२ हजार ९१६ बीमा अभिकर्ता रहेका छन् । 
त्यस्तै प्रदेश न.२ मा १ लाख १ हजार ८७६,गण्डकी प्रदेशमा ७२ हजार ८९७,सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ र कर्णली प्रदशमा ३७ हजार ५०६ जना अभिकर्ता रहेका छन् । 

बीमा कम्पनीका लागि बीमा अभिकर्ता व्यवसाय भित्राउने तथा पोलिसी बिक्री गराउने महत्वपूर्ण अंग हुन् । बीमा अभिकर्ताहरुले बीमा कम्पनी र बीमितबीच पुलको काम गर्ने गर्दछन् । एउटा बीमा कम्पनी सफल हुनुका पछाडि बीमा अभिकर्ताहरुको ठूलो हात हुने गर्छ । 

बीमा अभिकर्ताको संख्यामा देखिएको वृद्धिले नेपालमा हालका वर्षहरुमा बीमा अभिकर्ताप्रति आकर्षण बढेको स्पष्ट हुन्छ । तथापी एउटै बीमा अभिकर्ताले एक भन्दा बढी बीमा कम्पनीमा काम गर्ने भएकाले बीमा समितिले उपलब्ध गराएको संख्या वास्तविकताभन्दा फरक हुन सक्छ । 


Share this with your friends: