नेपाल लाइफको बिमाशुल्क आर्जनमा उछाल, जीवन बिमा कोषको आकार झण्डै ८८ अर्ब

2020-08-14
नेपाल लाइफको बिमाशुल्क आर्जनमा उछाल, जीवन बिमा कोषको आकार झण्डै ८८ अर्ब

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २२ अर्ब ८२ करोड रुपैयाँ थियो। 


समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ अर्ब ४८ लाख रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ९७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७ अर्ब ९९ करोड रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २५.२४ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ। 

कम्पनीको खुद मुनाफा बढेको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ५३ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको अघिल्लो वर्षको तुलनामा व्यवस्थापन बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २ अर्ब  ४८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ अर्ब २४ करोड रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ८७ अर्ब २ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३३.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ६५ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष २ अर्ब ४३ करोड ७९ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३ अर्ब ५० करोड रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै कम्पनीले १३ लाख ४ हजार ६३२ बिमालेख जारी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ लाख ८० हजार ६३६ बिमालेख जारी गरेको थियो।  

कम्पनीको प्रति सेयर आम्दानी ९.६५ रुपैयाँ, पि.ई अनुपात १३०.५७, प्रति सेयर नेटवर्थ १७३.९२, प्रति सेयर कुल सम्पत्तिको मूल्य १८६८ रुपैयाँ र औसत प्रतिफल दर ९.९३ छ।  


Share this with your friends: