पहिलो दिन सबै बिकेन रिलायन्सको आइपीओ, निश्कासितमध्ये ४८% कित्ताका लागि आवेदन

2020-08-20
पहिलो दिन सबै बिकेन रिलायन्सको आइपीओ, निश्कासितमध्ये ४८% कित्ताका लागि आवेदन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निश्कासन गरेको आइपीओ कित्तामध्ये पहिलो दिन ४८ प्रतिशत मात्र बिक्री भएको छ । 

मेरो सेयरमा लोड धेरै भएका कारण र काठमाण्डौ लगायतका क्षेत्रमा निषेधाज्ञा लागेका कारण त्यसको प्रभाव यो कम्पनीले निश्कासन गरेको आइपीओमा परेको हो । 

रिलायन्स लाइफले सर्वसाधारणका लागि निश्कासन गरेको ५६ लाख ७० हजार कित्ता आइपीओमा बिहीबार ४ः३० बजेसम्म २७ लाख ३० हजार १३० कित्ता खरीदका लागि मात्र आवेदन परेको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

यो अवधिसम्म देशभरबाट कुल ५५ हजार २८४ आवेदकहरुले आइपीओ खरीदका लागि आवेदन दिएका छन् । 

आइपीओ खरीदका लागि छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । 

कम्पनीको आइपीओमा कम्तीमा पनि १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था र तिनका शाखा वा मेरो सेयरबाट बाट खरीद आवेदन दिन सक्ने बताइएको छ ।  

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो।


Share this with your friends: