काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ३४ लाख २८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १४ करोड २६ लाख ४३ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७६ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २८.६२ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ करोड ७४ लाख ५५ हजार रुपैयाँमा सीमित थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५ करोड ४९ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३५ लाख १३ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २.६५ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ।
यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी २ करोड ९८ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ४८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २० करोड ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार घटेर ५५ करोड ५१ लाख ८४ हजार रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार बढेर २८ करोड ६६ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो कोषको आकार २२ करोड ५० लाखमा ६९ हजार रुपैयाँमा सीमित थियो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ हजार २६८ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा २८ हजार ९६१ बीमालेख जारी गरेको छ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १३.१७ रुपैयाँ, पीई रेसिया ५२.७६ गुणा, प्रति सेयर नेटवर्थ १७७.५९ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २५४.३३ रुपैयाँ रहेको छ।