प्रभु लाइफको बिमाशुल्क आर्जन १५५%ले वृद्धि, मुनाफा पनि बढेर ४.४४ करोड

2020-08-16
प्रभु लाइफको बिमाशुल्क आर्जन १५५%ले वृद्धि, मुनाफा पनि बढेर ४.४४ करोड

काठमाणडौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा १ अर्ब १५ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशत बढी हो । अघिल्लो वर्ष यो रकम ३ करोड ८८ लाख रुपैयाँ थियो । 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम १७ लाख ५५ हजार रुपैयाँ थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ३५६.०७ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ । 

आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ । चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ४ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १६.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 


समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ । कम्पनीको व्यवस्थापन खर्च ३८ करोड २५ लाख रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २० करोड ४९ लाख रुपैयाँ थियो । 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०५.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ३४ करोड १३ लाख रुपैयाँमा सीमित थियो । 


अघिल्लो वर्ष ७ करोड ७५ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर १४ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ । 

त्यस्तै कम्पनीले जारी गरेको बिमालेखको संख्या ६९ हजार ९२ हो । अघिल्लो वर्ष कम्पनीले ३० हजार ७ सय ८३ बिमालेख जारी गरेको थियो । 


Share this with your friends: