प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2020-12-23
प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सधारण सभा, लाभांस पारित मुख्य अजेन्डा


काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले काठमाण्डौ हात्तिसार स्थित कम्पनीको प्रधान कार्यालयमा आउँदो पुस २७ गते बिहान ११.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। 

सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको ७ प्रतिशतको बोनस सेयर र ८ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको ७ प्रतिशतले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 
यस्तै सभामा बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह, एकिकृत आय व्ययको हिसाब र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ/व २०७६/७७ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आउँदो पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: