बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग

2021-03-28
बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग

काठमाण्डौ । बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका छन्। कारोना बीमा दाबी भुक्तानीका लागि हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बीमा कम्पनीहरुले उक्त रकम माग गरेका हुन्। रकम माग गरिएको पत्र बीमा समितिले शुक्रबार नै अर्थ मन्त्रालय पुर्याईसकेको छ। 

गत जेठ महिनामा बीमा समिति, बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी र सरकारबीच कारोना बीमामा परेका दाबीमध्ये पहिलो १० हजारको दाबी बीमा कम्पनीहरुले गर्नुपर्ने सहमति बनेको थियो। त्यसपछिका थप १० हजार दाबी भुक्तानी नेपाल पुनर्बीमा कम्पनीले र थप ५ हजार दाबी भुक्तानी बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरिने सहमति भएको थियो। 
यसरी २५ हजारपछिको थप १० हजार दाबी भुक्तनी बीमा समितिले व्यहोर्नेछ। त्यसपछिको सबै दाबी भुक्तानी सरकारले व्यहोर्नेछ। 

कोरोना बीमा दाबी भुक्तानीका लागि यसअघि सरकारले ८१ करोड रुपैयाँ प्रदान गरिसकेको छ। यो रकम निजामति कर्मचारीको १ लाख रुपैयाँको निशुल्क कोरोना बीमा र सर्वसाधारणलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदानबापत प्रदान गरिएको थियो। 

 


Share this with your friends: