लाभांस संशोधन गरेको विषयमा नेप्सेले गुराँस लाइफसँग माग्यो स्पष्टीकरण

2020-10-22
लाभांस संशोधन गरेको विषयमा नेप्सेले गुराँस लाइफसँग माग्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ। नेप्सेले गुराँस लाइफलाई आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांस पटकपटक संशोधन गरेको विषयमा स्पष्टीकरण सोधेको हो। 

गुराँस लाइफले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत कात्तिक ४ गते पत्र पठाई यसो गर्नु पछाडिको कारण माग गरेको हो। नेप्सेले यसको जवाफ तीन कार्यदिन भित्र उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको छ। 

कम्पनीले उक्त आर्थिक वर्षका लागि सुरुमा १३.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। त्यस पश्चात बीमा समितिले लाभांश अस्वीकृत गर्दै संशोधन गर्न निर्देशन दिएको थियो। 
बीमा समितिको निर्देशनपछि कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। तर कम्पनीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ हकप्रद सेयर जारी भई सो हकप्रद सेयर नेप्सेमा सूचीकरण भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएको छ। 

सोही कारणले अब सेयरधनीहरुलाई नयाँ कायम हुने चुक्तापुँजीको ५।२५ प्रतिशतले बोनस सेयर वितरण गर्ने र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो दसौँ वार्षिक साधारणसभा डोकेको छ ।

 


Share this with your friends: