शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

2021-03-31
शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

काठमाण्डौ । शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । जुम्लामै सबैभन्दा बढी ७०० बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज बिष्टले १ लाख ८९ हजार रुपैयाँबराबरको भुक्तानी रकम बुझेका छन् ।

भुक्तानी पाएपश्चात बिष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् ।

जुम्लामा ७४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा २७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ ।

यसैगरी प्रतिबिरुवा २७० रुपैयाँका दरले कालिकोटका ३२६ किसानले ७० लाख २० हजार दाबीभुक्तानी पाएका छन् । कालिकोटमा ३२६ जना किसानले २ हजार ६०० बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बीमा गराएका थिए ।

यस्तै मुगुका ३१८ जना किसानले १ हजार ९०० बिरुवाको बीमा गरेबापत ५१ लाख रुपैयाँबराबरको भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्सको शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबीभुक्तानी पाएका हुन् ।

असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् ।

शिखर इन्स्योरेन्सले ५ वर्षअगाडि मौसमी सूचकांकका आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो । गएको ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरुलाई दाबीभुक्तानी गर्दै आइरहेको छ ।

सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए । असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन् ।

आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सूचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ । 


Share this with your friends: