शिखर इन्स्योरेन्सको खुद मुनाफा रु.३६.३३ करोड, बीमाशुल्क आर्जन ११.९६%ले वृद्धि

2021-05-13
शिखर इन्स्योरेन्सको खुद मुनाफा रु.३६.३३ करोड, बीमाशुल्क आर्जन ११.९६%ले वृद्धि

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड २४ लाख ८६ हजार १८५ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ९६ करोड ६८ लाख १ हजार ४०५ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १३ करोड ३५ लाख  ८८ हजार ९४४ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १० करोड ३९ लाख ६८ हजार ७७१ रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६४ करोड २ लाख ३९ हजार ९९२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६५ करोड २६ लाख ९९ हजार ४५५ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १.९१ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ३६ करोड ३३ लाख २० हजार ८५८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १०.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३२ करोड ९५ लाख १८ हजार ९३१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब २३ करोड ८९ लाख ७१ हजार ०२९ रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार घटेर ६१ करोड ७६ लाख ७१ हजार ००८ रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष यो कोषको आकार ७६ करोड ५६ लाखमा ५१ हजार ४९६ रुपैयाँमा सीमित थियो । 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ लाख ३५ हजार ५६३ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा २ लाख ११ हजार ९९ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २७.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.७४, प्रतिसेयर नेटवर्थ २१६.३९ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३१२.८३ रुपैयाँ रहेको छ। 


Share this with your friends: