प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-04-25
प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँबाट वृद्धि गरी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ६६० रुपैयाँ कायम गर्ने र बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण सेयरधनीको ४० प्रतिशत सेयर स्वामित्व रहेकोमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव अनुमोदन गरिनेछ। 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा विज्ञ सञ्चालक १ सहित संस्थापक संख्या ३ र सर्वसाधारण संख्या दुई गरी जम्मा संख्या ६ रहेकोमा विज्ञ सञ्चालक १ सहित संस्थाक संख्या ४ र सर्वसाधारण संख्या २ गरी जम्मा संख्या ७ हुनेगरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण, सञ्चालक समितिबाट समूह ख अन्तर्गत रिक्त एक सञ्चालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तिको अनुमोदन, सञ्चालक समितिबाट नियुक्त गरिएको १ विज्ञ सञ्चालक पदमा चार वर्षका लागि गरिएको नियुक्तीको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: