कम्पनीको पुँजीबराबरकै दायीत्व सिर्जना भएपछि ‘कोरोना बिमालेख’ स्थगित
बिमा समिति भन्छ–‘खारेज भएको होइन’ कम्पनी भन्छन्–‘फाइदा नहुने भो’

2020-08-09
कम्पनीको पुँजीबराबरकै दायीत्व सिर्जना भएपछि ‘कोरोना बिमालेख’ स्थगित

काठमाण्डौ । आफूलाई फाइदा नहुने देखिएपछि संकटको बेला नेपालका निर्जीवन कम्पनीहरुले जनस्तरमा लोकप्रिय बनेको कोरोना बिमालेख नै बिक्री नगर्ने निर्णय गरेका छन् । 

निर्जीवन बिमा कम्पनीहरुको साझा संगठन नेपाल बिमक संघको बैठकले कोरोना संक्रमण तीव्र बनी दाबीभुक्तानीमा समस्या पर्ने देखेपछि कम्पनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने निश्कर्ष निकाल्दै निकै चर्चित कोरोना बिमा लेख स्थगनका लागि बिमा समितिलाई अनुरोध गरेका थिए ।

संघको अनुरोधअनुसार बिमा समितिले समेत यो बिमालेख स्थगनको निर्णय बिहीबार गरेको छ । 

बिमा समितिले बिमक संघसँगकै छलफलपछि बैशाख ७ गतेदेखि लागू हुने गरी कोरोना बिमालेख बिक्री गर्न सकिने व्यवस्था गरेको थियो। 

यो १ वर्षे बीमा अवधिको योजनाअन्तर्गत व्यक्तिगततर्फ १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था छ। परिवारकै बीमा गर्ने हो भने १ लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँका लागि ३०० सय रुपैयाँ रकम तिर्नुपर्ने बीमा समितिले व्यवस्था गरेको थियो । 

बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिए यो योजनाअन्तर्गतको बीमा दाबी भुक्तानी हुने व्यवस्था गरिएको थियो । 

बिमालेख जारी भएपछि हालसम्मको अवधिमा ३ लाख बढी व्यक्ति यो पोलिसीमा आबद्ध भइसकेका छन् । बिमा कम्पनीहरुले यो पोलिसी बिक्री गरेर करिब १७ करोड रुपैयाँ आर्जन गरेका छन् । 

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार २० निर्जीवन बिमा कम्पनी र एक पुनरबिमा कम्पनीको पूँजी नै ३० अर्ब रहेको बेला हालसम्म बिक्री भएको पोलिसीका दायीत्व नै ३० अर्ब नजिक पुगेपछि दाबीभुक्तानीमा समस्या पर्ने देखेकोले पनि हाललाई यो पोलिसी नै स्थगन गरिएको हो । 

सरकारले बजेटमार्फत कोरोना बिमाको व्यवस्था गरेको छ । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने सरकारी घोषणामा उल्लेख छ । यो विषयमा सरकारबाट कस्तो निर्देशन र मोडालिटी सिफारिस हुन्छ भन्ने कुरामा समेत अन्यौल सिर्जना भएपछि हाललाई पोलिसी बिक्री स्थगन गरिएको पौडेलको थप प्रष्टीकरण छ । 

‘सरकारले पनि बजेटमार्फत कोरोना बिमाको नीति ल्याएको छ । त्यहाँबाट पनि केही निर्देशन आउला । मोडालिटी फरक होला । अनुदानको कुरा पनि छ, त्यो कसरी आउँछ हेर्न बाँकी नै छ । पछि फेरि दोहोरो पर्न गयो भने केही गाह्रो होला ।’ उनले भने–‘सरकारको निर्देशनलाई कुर्नुपर्ने, हाम्रो मोडालिटी पनि केही परिवर्तन गर्नुपर्ने अवस्थाका कारण यो पोलिसी केही समयका लागि स्थगित भएको हो।’ 

जनताका लोकप्रिय बनेको कोरोना बिमालेख खारेज वा बन्द नहुने प्रष्ट पार्दै पौडेलले भने–‘यति धेरै लोकप्रिय बिमालेख बन्द हुने भन्ने कुरै हुन्न । केही समयपछि फेरि सुरु हुन्छ ।’ 

यो बिमालेख निर्जीवन बिमा कम्पनीको संस्था बिमक संघको नेतृत्वमा पुनर्बिमा कम्पनीसहितको पुलमार्फत व्यवस्थापन गरिएको थियो । कोरोना बिमाको जोखिमको २० प्रतिशत पुनर्बिमा कम्पनीले बहन गर्नुपर्ने सम्झौता रहेको थियो । 

सुरुवातमा कोरोना संक्रमितको संख्या नेपालमा धेरै नहुने अधिकांश आँकलन रहेको, तर परिस्थिति अनुमानभन्दा गम्भीर बनेपछि थाम्नै नसक्ने गरी भुक्तानीको दायीत्व सिर्जना हुने डरले लोकप्रिय प्रडक्ट स्थगन हुन पुगेको स्रोत बताउँछ ।

निर्जीवन बिमा कम्पनीका सीइओहरु भने सरकारले बजेटमार्फत कोरोना बिमाको प्रिमियमा छुटको व्यवस्था गरे पनि कम्पनीको हितका लागि कुनै पनि कार्यक्रम नआएपछि यसलाई स्थगन गर्नुपर्ने अवस्था आएको दाबी गर्छन् । ‘पोलिसी खरीद गर्नेले प्रिमियमा ५० प्रतिशत छुट पाउने भनियो, कम्पनीहरुलाई चाहि के फाइदा त ?’ एक सीइओले भने–‘हामी पनि व्यापार गर्न बसेका हौं, समाजसेवा गर्न होइन ।’


Share this with your friends: