कालिका लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-24
कालिका लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। अहिले संस्थामा संस्थागत समूहको सेयरम स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत रहेको छ। 

सभामा एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व  २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: