जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु.७.२८ करोड, अन्य सूचकको अवस्था कस्तो ?

2021-11-15
जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु.७.२८ करोड, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ७ करोड २८ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५.२६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९४ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा १३३.७० प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यो रकम ४० लाख ४१ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६२.२५ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी बढेर २ करोड ६८ लाख ९४ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो आ.वको पहिलो त्रैमासको सोहि अवधिमा कम्पनीले १ करोड ६५ लाख ७६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ ।  यो अवधिमा कम्पनीले ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६१.२५ प्रतिशतले बढी हो ।  

यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ९२.०६ प्रतिशतले वृद्धि भएर १२ करोड ८ लाख ५ हजार रुपैयाँको भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १० करोड ४७ लाख ५९ हजार रुपैयाँको भएको छ। यस्तै कम्पनीको महाविपत्ती कोषको आकार पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीको महाविपत्ती जगेडा कोषको आकार ४६.३० प्रतिशतले वृद्धि भएर ९३ लाख १२ हजार रुपैयाँ बराबरको भएको छ । 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड ९६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको व्यवस्थापन खर्च ६५.३३ प्रतिशतले बढेर करोड ४  ९० लाख २० हजार पुगेको छ। 

कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा १७ हजार ८४६ वटा बीमालेख जारी गरेको छ। यस्तै कम्पनीको प्रति सेयर आम्दानी १५.३४ रुपैयाँ, पिई अनुपात ३६.८३ गुणा, प्रति सेयर नेटवर्थ १२३.४९ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १७८.९९ रुपैयाँ रहेको छ। 


Share this with your friends: