न्यूनतम चुक्तापूँजी कायम गर्न कुन बीमा कम्पनीले कति पूँजी वृद्धि गर्नुपर्ने ?

2022-03-25
न्यूनतम चुक्तापूँजी कायम गर्न कुन बीमा कम्पनीले कति पूँजी वृद्धि गर्नुपर्ने ?

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ ।

बीमा कम्पनीहरुको वृद्धि गरिएको चुक्तापूँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्नेछ । यस्तै बीमा कम्पनहिरुले ३० दिनभित्र आफ्नो पूँजी योजना बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।   

बीमा समितिको निर्णयअनुसार बीमा कम्पनीहरुले ६५ अर्ब २६ करोड रुपैयाँ पूँजी वृद्धि गर्नुपर्नेछ । यसमा सबैभन्दा धेरै चुक्तापूँजी राष्ट्रिय बीमा कम्पनीले वृद्धि गर्नुपर्ने देखिएको छ । कम्पनीको हाल चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी २.५ अर्ब पुर्याउनुपर्ने व्यवस्थाअनुरुप अब कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ अर्थात ८३७ प्रतिशत चुक्तापूँजी वृद्धि गुर्नपर्नेछ । 

जीवन बीमा 

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स बाहेक अन्य सबै कम्पनीहरुको चुक्तापूँजी अपुग देखिन्छ । न्यूनतम पूँजी ५ अर्ब कायम गर्नुपर्नेमा नेपाल लाइफको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसरी नेपाल लाइफको हालको चुक्तापूँजी बीमा समितिले निर्धारण गरेको न्यूनतम सिमाभन्दा ३ अर्ब बढी हो ।

जीवन बीमामध्ये आइएमई लाइफ,महालक्ष्मी लाइफ,सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले सबैभन्दा धेरै पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ । यी चारवर्ट कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजी वृद्धि गर्नुपर्ने देखिन्छ । ुहाल यी चारवटै कम्पनीहरुको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । 
त्यस्तै सानिमा लाइफ र प्रभु लाइफले पनि समान ३ अर्ब रुपैयाँ पूँजी वृद्धि गर्नुपर्नेछ । यसैगरी गुराँस लाइफले २ अर्ब ९१ करोड,युनियन लाइफ २ अर्ब ८५ करोड,ज्याति लाइफ २ अर्ब ५८ करोड,एशियन लाइफ २ अर्ब ४८ करोड, सूर्या लाइफ २ अर्ब ४४ करोड,प्राइम लाइफ २ अर्ब २२ करोड,एलआईसी नेपाल २ अर्ब ३४ करोड र नेशनल लाइफ इन्स्योरेन्सले ९६ करोड ४८ लाख रुपैयाँ जुटाउनु पर्ने देख्निछ । 

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै चुक्तापूँजी वृद्धि गर्नुपर्ने देखिएको छ । त्यस्तै जनरल इन्स्योरेन्स,सानिमा जनरल र अजोड इन्स्योरेन्सले समान १ अर्ब ५० करोड रुपैयाँ पूँजी वृद्धि गर्नुपर्नेछ । हाल यी तीन वटै कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ छ । 

त्यस्तै युनाइटेड इन्स्योरेन्स १ अर्ब ४७ करोड,प्रडेसन्सयल इन्स्योरेन्सले १ अर्ब ३९ करोड,सगरमाथा इन्स्योरेन्स १ अर्ब ३८ करोड,सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ३८ करोड,हिमालयन जनरल १ अर्ब ३२ करोड,एभरेष्ट इन्स्योरेन्स १ अर्ब ३१ करोड,लुम्बिनी जनरल १ अर्ब ३० करोड,नेपाल इन्स्योरेन्स १ अर्ब २५ करोड,प्रिमियर इन्स्योरेन्स १ अर्ब २७ करोड र एनएलजी इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ चुक्तापूँजी वृद्धि गर्नुपर्ने छ । 

शिखर इन्स्योरेन्सको हकप्रदपश्चात चुक्तापूँजी २ अर्ब २८ करोड रुपैयाँ पग्नेछ । यसर्थ कम्पनीले न्यूनतम चुक्तापूँजी २.५ अर्ब पुर्याउन थप २१ करोड ३९ लाख रुपैयाँ जुटाउनु पर्नेछ । 

आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी पनि हकप्रदपश्चात १ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।  

बीमा कम्पनीहरुले पूँजीवृद्धिका लागि हकप्रद,बोनस सेयर र मर्जरको बाटो रोज्न सक्नेछन् । ठूलो परिणामको पूँजीवृद्धिका लागि कम समय उपलब्ध गराइएकाले बीमा कम्पनीहरुलाई न्यूनतम पूँजीवृद्धि कायम गर्न गाह्रो पर्ने देखिन्छ । 


Share this with your friends: