फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

2022-02-01
फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ।

एक कार्यक्रमका बीच सोमबार फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ। अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ। 

सम्झौता कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। हामी दुवै कम्पनीको लडाइँ ंभनेको नगद कारोबारसँग हो। क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्दत पुग्नेछ।’ 

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘यस सहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन्। यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ। हामी दुवैको ठूलो उद्देश्य एउटै छ, जुन हो नेपाललाई डिजिटल बनाउने। जसका लागि हामी सँगै अघि बढ्दैछौँ।’ 

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। 

दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आईडी एसएस भीथ्री।टु।वान प्रमाणीकरण प्राप्त संस्था हो। 

सन् २०१७ मा आफ्नो सेवा सुरु गरेको ‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नविन पहिचान बनाउन सफल ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।


Share this with your friends: