बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायी महासंघको धर्ना

2022-04-21
बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायी महासंघको धर्ना

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा आजदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा १–१ घण्टा धर्ना दिएका हुन् । व्यवसायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका हुन्। 
धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानून जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्नेलगायतका नारा लगाएका थिए।
धर्नामा सहभागीहरूले बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापन(पत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएकाले धर्नामा उत्रनु परेको बताएका छन्। बीमा निर्देशिका खारेजी सम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, ईप्पानले पनि ऐक्यवद्धता जनाएको छ। ऊर्जा उत्पादकहरू पनि सहभागी धर्ना कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुनै पनि दृष्टिकोणले व्यवसायीको पक्षमा नरहेको निर्देशिका खारेज गर्नुको विकल्प नरहेको जिकिर गरे। 

सोही अनुरुप अहिले यि दुबै ठाउँमा धर्ना दिन थलिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । महासंघका महासचिव रोशन दाहालले निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै कि मूल्यवृद्धि फिर्ता हुनुपर्ने वा यस अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारलाई दबाब दिन आफुहरु धर्नामा बसेको बताए ।

त्यस्तै महासंघले ७ गते बसेको महासंघको कार्यसमितिको बैठकबाट संघर्षका कार्यक्रमहरु तय भए अनुसार भोलि पनि धर्ना कार्यक्रम जारी रहने जनाएको छ । भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना कार्यक्रम हुने र यसमा सहभागी हुन महांघले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ ।   


Share this with your friends: