वित्तीय साक्षरता र्‍यालीमा बीमा समितिको सहभागीता

2022-03-27
वित्तीय साक्षरता र्‍यालीमा बीमा समितिको सहभागीता

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (Global Money Week-2022)का अवसरमा आज काठमाण्डौमा वित्तीय प्रणालीका नियामक निकायहरुको समन्वय एवम सहभागीतामा वित्तीय साक्षरता र्याली आयोजना गरिएको छ । 

र्यालीमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल,निर्देशकहरुश्र कमलप्रसाल रेग्मी,सुशिलदेव सुवेदी,पूजन ढुंगेल तथा दिनेश कुमार लाल र समितिका कर्मचारीहरुको सहभागीता रहेको थियो । 

यसैगरी र्यालीमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लि. सिडिएस एण्ड क्लियरीङ्ग लि., रेटिङ्ग संस्थाहरू, स्टक ब्रोकर एशोसियसन अफ नेपाल र मर्चेन्ट बैकंर्स एशोसियसन अफ नेपाल, नेशनल बैकिङ्ग इन्स्टिच्यूट र सम्बद्ध संस्थाहरूको व्यापक सहभागिता रहेको थियो । 
काठमाण्डौको भद्रकालीबाट सुरु भएको र्याली टुडिखेल परिक्रमा गरी भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । 
सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका दुरदराजका ग्रामीण भेगसम्म वित्तीय परिचालकहरु खटाएर वित्तीय साक्षरतालाई व्यापकरुपमा अगाडी बढाउन नियामक निकायहरु लगायत सम्बन्धित संस्थाहरुलाई आग्रह गरेका छन् । उनले रकमको बुद्धिमतापुर्वक प्रयोग गर्न, उचित प्रतिफल प्राप्त हुनेगरी पारदर्शी किसिमले काम गर्न वित्तीय क्षेत्रको सुधारमा लगान सम्बन्धित सबैको ध्यानाकर्षण गरे ।

अर्थमन्त्री शर्माले पूँजी बजारमा छरिएर रहेका रकमलाई एकत्रित गरेर देशका पूर्वाधार तथा उत्पादनका क्षेत्रमा लगानीका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिए । साधै, उनले लगानीको सुरक्षा गर्न र पूँजी बजारमा देखिएका इन्साइडर ट्रेडिङ लगायतका विकृतिहरुलाई नियन्त्रण गरी पूँजी बजारलाई व्यवस्थितरुपले अगाडी बढाउन पनि निर्देशन दिए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल विशेष अतिथि रहेको यस कार्यक्रमको सभापतित्व नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले गरेका थिए । एक सातादेखी वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण, हाजिरी जवाफ, अन्तर्क्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिएको विश्व वित्तीय सप्ताहको अन्तिम दिन आज वित्तीय साक्षरता र्याली सहित सभाको आयोजना गरिएको हो । नेपाल सहित विश्वका १७६ देशमा विश्व वित्तीय सप्ताह एकैसाथ मनाइएको त्यस अवसरमा जानकारी दिइएको थियो ।


Share this with your friends: