नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि पाँच कम्पनीद्वारा प्रस्ताव पेश

2021-05-20
नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि पाँच कम्पनीद्वारा प्रस्ताव पेश

काठमाण्डौ । बीमा समितिसमक्ष पाचँवटा कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका छन् । 

नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेश गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका छन् । समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्ताव आह्वानको अन्तिम दिन अर्थात जेठ ५  गते बुधबारसम्म ५ कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका हुन् । 

आवेदक परेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मुल्यानंकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई छनोट गरिने बीमा समितिका कार्यकारी निर्देशक रामुरमण पौडेले जानकारी दिए । 

हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनीको रुपमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी रहेको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि गत फागुनमा अध्ययन समिति बनाएको थियो । उक्त अध्ययन समितिले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता रहेको प्रतिवेदन निकालेको थियो । सोहि अध्ययनकै आधारमा बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडी बढाएको थियो । 
निजी लगानीमा स्थापना हुने नयाँ पुनर्बीमा कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ हुनेछ ।  


Share this with your friends: