नयाँ पुनर्बीमा कम्पनीका लागि हिमालयन रिले पायो लाइसेन्स

2021-05-31
नयाँ पुनर्बीमा कम्पनीका लागि हिमालयन रिले पायो लाइसेन्स

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको  छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । यससँगै अब कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ ।

समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्ताव आह्वानको अन्तिम दिन अर्थात जेठ ५  गते बुधबारसम्म ५ कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका थिए । 

नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेश गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका थिए । आवेदक परेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मुल्यानंकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई छनोट गरिने बीमा समितिले जनाएको थियो । 

 हिमालयन रि इन्स्योरेन्समा उद्योग बाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के।एल। दुगड ग्रुपका विकास दुगड, एम।भी। दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ । 

हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनीको रुपमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी रहेको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि गत फागुनमा अध्ययन समिति बनाएको थियो । उक्त अध्ययन समितिले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता रहेको प्रतिवेदन निकालेको थियो । सोहि अध्ययनकै आधारमा बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडी बढाएको थियो । 
निजी लगानीमा स्थापना हुने नयाँ पुनर्बीमा कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ हुनेछ ।  

   


Share this with your friends: