नयाँ पुनर्बीमा कम्पनीका रुपमा हिमालयन रि–इन्स्योरेन्स दर्ता

2021-06-10
नयाँ पुनर्बीमा कम्पनीका रुपमा हिमालयन रि–इन्स्योरेन्स दर्ता

काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनीका रुपमा बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनी दर्ता गराएको छ । कम्पनीले जेठ २३ गते आइतबारका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा त्रिपुरेश्वरमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको नाममा कम्पनी दर्ता गराएको हो । 

कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । 

कम्पनीको आधिकारीक ठेगाना काठमाण्डौं महानगरपालिका,काठमाण्डौ,बागमती र दर्ता नम्बर २६३६१८ रहेको छ ।

हिमालयन रि इन्स्योरेन्समा उद्योग बाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एम।भी। दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ । 

समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्ताव आह्वानको अन्तिम दिन अर्थात जेठ ५  गतेसम्म ५ कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेश गरेका थिए । 

नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेश गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका थिए । आवेदक परेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मुल्यानंकनका आधारहरुमा उच्चतम अंक प्राप्त गरेकाले हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स प्रदान गरिएको बीमा समितिले जनाएको थियो । 


Share this with your friends: