नेपाल पुनर्बीमा सातौँ वर्षमा प्रवेश, बीमा क्षेत्रलाई समयसापेक्ष बनाउने लक्ष्य

2020-11-06
नेपाल पुनर्बीमा सातौँ वर्षमा प्रवेश, बीमा क्षेत्रलाई समयसापेक्ष बनाउने लक्ष्य

काठमाण्डौ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी आज शुक्रबारबाट साताँै वर्षमा प्रवेश गरेको छ। बि.स २०७१ कात्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबारको थालनी गरेको कम्पनीले आफ्नो ६ वर्षे यात्रा सफलतापूर्वक पार गरी सातौँ वर्षमा प्रवेश गरेको हो। 

कम्पनीले सातौँ वार्षिकोत्सव समारोह जुम एपका माध्यमबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको थियो। वार्षिकोत्सवका लागि शुभकामना व्यक्त गर्दै पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शंकरकुमार रायमाझीले नेपाल सरकारले बीमा क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन बीमकहरुले विगतमा भोग्नु परेका समस्याहरुलाई समाधान गर्ने उदेश्य अनुरुप कम्पनीको स्थापना भएको बताए। उनले बीमा क्षेत्रलाई समयसापेक्ष बनाउन क्षमता वृद्धि गर्दै स्वदेशी तथा विदेशी बीमक पुनर्बीमकलाई विश्वास दिलाई अगाडि बढ्न कम्पनी तयार रहेको सुनाए। 

सीईओ रायमाझीले कम्पनीमा लोकसेवामार्फत दक्ष जनशक्ति अभिवृद्धि गर्न कम्पनी लागिपर्ने बताए। उनले कम्पनीमा दक्ष जनशक्ति आपूर्ति भित्र्याएर तिनको क्षमता अभिवृद्धि गर्ने कार्यभार रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरको रेटिङ प्राप्त नगरीकन व्यवसाय प्रवद्र्धन गर्न समस्या भएकोले त्यसका लागि धेरै काम गर्न बाँकी रहेको जानकारी दिए। उनले अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर निर्माण गरेर व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए। 

रायमाझीले विदेशमा शाखा विस्तार गरेर पनि सेवा प्रवाह गर्न सकिने उल्लेख गरे। “लगानीका क्षेत्रमा हाम्रो कमजोरी भनेको राज्यले प्राथमिकीकरण गरेका कृषि, पर्यटन र उद्योगमा लगानी हुन नसक्नु हो। यसका लागि यो आर्थिक वर्षमा हामीले प्रक्रिया आरम्भ गरेका छौँ”, उनले भने। 

उनले सुव्यवस्थित म्यानेजमेन्ट इनफरमेसन सिस्टम(एमआईएएस) स्थापना गर्नका लागि निकै पहल, मेहनत र प्रयत्न गर्न आवश्यक रहेको औँल्याए। 

यस्तै उक्त भर्चुअल कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडाशैनीले नेपाल पुनर्बीमा कम्पनीको वित्तीय क्षमता अभिवृद्धि हुनु पर्ने बताए। “ पुँजिबृद्धि गरेर वित्तीय क्षमता अझै बृद्धि गर्नुपर्दछ । जनशक्तिको क्षमता विकास र तालिममा ध्यान दिनुपर्छ । कर्पोरेट गभर्नेन्स, ग्राहकहरुसँग गर्ने व्यवहार र शुसासनमा ध्यान दिन जरुरी छ ।” उनले भने। 

उनले पुनर्बीमा कम्पनीले आफ्नो कोषमा जम्मा गरेको रकम पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा उपयुक्त हुने धारणा व्यक्त गरे। 

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले  विगतमा अन्तराष्ट्रिय क्षेत्रमा भएका आर्थिक जोखिम तथा प्राकृतिक विपत्तिलाई अन्य पुनर्र्बीमा कम्पनीले प्रयाप्त सुरक्षा प्रदान नगरेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीको स्थापना पश्चात नेपाली बीमा कम्पनीहरुलाई जोखिम व्यवस्थापन गर्न तथा बीमा व्यवसाय विस्तार गर्न धेरै सहयोग पुगको बताए। उनले कृषि तथा पशुपंक्षी बीमा गर्न अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीहरु पन्छीएको अवस्थामा नेपाल पुर्नर्बीमा कम्पनीले सो को पुनर्बीमा प्रदान गरी नेपालमा कृषि तथा पशुपंक्षी बीमाको विकासमा उल्लेख्य योगदान पुर्याएको बताए। उनले पुनर्बीमा कम्पनीले आफ्नो वित्तीय क्षमताका साथै प्राविधिक क्षमता अभिवृद्धि गर्न समेत लागि पर्नु पर्ने सुझाव दिए।    

 


Share this with your friends: