पुनर्बिमा कम्पनीको कामप्रति अर्थमन्त्री असन्तुष्ट, नयाँ संस्थालाई अवसर दिन निर्देशन

2020-08-09
पुनर्बिमा कम्पनीको कामप्रति अर्थमन्त्री असन्तुष्ट, नयाँ संस्थालाई अवसर दिन निर्देशन

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् । 

बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो निर्देशन दिएका हुन् । 

‘पुनरबिमा कम्पनीका साथीहरुले पनि अब कुरा बुझ्नुपर्यो । त्यहाँका साथीहरुलाई मेरो आग्रह–तपाईहरु पसल खोलेर बसेको होइन, राम्रोसँग मार्केटिङ गर्नुहोस्, कन्भिन्स गर्नुहोस्, हाम्रा सेवा पनि विश्वस्तरीय छन् भनेर प्रचारप्रसार गर्र्नुहोस् ।’ अर्थमन्त्री डा. खतिवडाले थपे–‘यो विषयमा बिमा समितिले पनि बेलैमा मूल्याङ्कन गर्नुपर्छ । अहिलेको कम्पनीले काम गर्न सक्दैन भने वैकल्पिक संस्था सिर्जना गरेर पनि पुनरबिमाको दायरा बढाउनुपर्छ । यसका लागि निजी क्षेत्रका साथीहरु तयार नै हुनुहुन्छ जस्तो लाग्छ ।’  

उनले लघुबिमालाई समेत अबका दिनमा प्राथमिकतामा राख्न निर्देशन दिए । यसका लागि समेत नयाँ संस्था तयार भए उनीहरुलाई अवसर दिनुपर्ने अर्थमन्त्रीको सुझाव थियो । 

डा. खतिवडाले बिमाको दायरा बढाउन, लघुविमा सेवा अहिलेका संस्थाहरुले दिन नसके नयाँ संस्था खोलेर अगाडि बढ्न, पशु बिमा, बाली बिमा, साना तथा मझौला व्यवसाय बिमालाई समेत प्राथमिकतामा राखेर काम गर्न समेत निर्देशन दिएका छन् । 

उनले बिमकहरुलाई पनि नियामको नीति निर्देशन पालना गर्न तथा स्वस्थ र पारदर्शी सेवामा समर्पित बन्न आग्रह गरे । 

विमितले आफ्नो दाबीभुक्तानीका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्थाको अन्त गर्न समेत उनले निर्देशन दिए । 

अर्थमन्त्रीले नेपालमै एक्चुअरीको क्षमताको विकास गर्न, बिमामा संस्थागत र भौगोलिक विविधकरण गर्न समेत आग्रह गरे । 


Share this with your friends: