महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा स्थगित, अब माघ ३ मा हुने

2022-01-10
महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा स्थगित, अब माघ ३ मा हुने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुने भनिएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो । अब बैंकको वार्षिक साधारण सभा नयाँ मिति अर्थात माघ ३ गते दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा भर्चअल माध्यमबाट आयोजना हुने भएको छ ।  

उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल १२.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको हाल कायम अधिकृत पूँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी ८ अर्ब कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: