संगठित संस्थाले मात्रै पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्न पाउने, विदेशी कम्पनीले समेत आवेदन दिन सक्ने

2021-06-09
संगठित संस्थाले मात्रै पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्न पाउने, विदेशी कम्पनीले समेत आवेदन दिन सक्ने

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा दलाल(ब्रोकर)संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको छ। सीमितले पुुनर्बीमा दलाल(ब्रोकर)सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै यस्तो पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्नका लागि कम्तीमा १० करोड अधिकृत पूँजी भएको संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको हो। 

उल्लेखित पूँजीको ५० प्रतिशत रकम अर्थात ५ करोड रुपैयाँ चुक्ता पूँजीको रुपमा कायम हुनेपर्ने छ। यस्तै पुनर्बीमा दलाल कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा जम्मा गर्नुपर्नेछ। अधिकृत पूँजी र चुक्तापूँजी सम्बन्धि अन्य व्यवस्था समितिले समय समयमा तोके बमोजिम हुनेछ। 

नयाँ निर्देशिका जारी भएसंगै समितिले पुनर्बीमा दलाल सम्बन्धी कार्य गर्नको लागि परम्परागत रुपमा व्यक्तिगत तरिकाले लिएको लाइसेन्सलाई खारेज गरेको छ। यससँगै अब कुनै व्यक्ति विशेषले पुनर्बीमा सम्बन्धि दलाल कार्य गर्न पाउने छैनन। यसका लागि संगिठत रुपमा संस्था स्थापना गर्नुपर्नेछ। 
तर समितिले कुनै बीमक वा पुनर्बीमको सञ्चालक, आधारभूत सेयरधनी, कर्मचारी वा पदाधिकारी, परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक बीमक वा पुनर्बीमासँग व्यवसायिक कारोबार भएका, बीमा अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, वा अन्य कुनै बीमा मध्यस्तकर्ताको इजाजत लिएका व्यक्तिले इजाजतप्राप्त भएको अवधिभर पुनर्बीमा दलाल कम्पनीकोे स्थापना गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुनर्बीमा दलाल हुन पाउने छैनन। 

यस्तै नेपालमा पुनर्बीमा सम्बन्धि कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिमा सम्पर्क शाखा खोल्ने इजाजतका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसरी आवेदन दिएका दलाल कम्पनीलाई बीमा समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशय पत्र प्राप्त भएपछि ब्रोकिङ कार्य गर्नुअघि नेपालको क वर्गको बैंकमा सेक्युरिटी डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्नेछ। 

यस्तै नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलाल कम्पनी खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले अधिकुत पूँजीको ५५ प्रतिशतसम्म सेयर हिस्सा राख्न सक्ने व्यवस्था गरिएको छ। यसरी विदेशी दलालले स्थापना गरेको कम्पनीमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतका अलावा आवश्यकताअनुसार १ जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिनेछ र अन्य कर्मचारीहरुको हकमा नेपाली नागरिक हुनेपर्ने छ।   

 


Share this with your friends: