दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

2021-07-25
दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

आईपीओ निष्कासनको माग गर्दै जाल्पा लघुवित्तले असार २० गते, राष्ट्र उत्थान लघुवित्तले असार २४ गते र मोलुङ हाइड्रोपावर कम्पनीले साउन १ गते बोर्डमा आवेदन दिएका हुन् । 

जाल्पा सामूदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता सेयर आईपीओ निष्कासनको माग गरेको हो । राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको माग गर्दै बोर्डमा पुगेको हो । 

यसैगरी मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ । 

जाल्पा सामूदायिक लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल, राष्ट्र उत्थान लघुवित्तको एनआईबीएल एस क्यापिटल र मोलुङ हाइड्रोपावर कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: