नेपाल पुनर्बीमा कम्पनीद्वारा ५.९२ अर्ब खुद बीमाशुल्क आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

2021-07-16
नेपाल पुनर्बीमा कम्पनीद्वारा ५.९२ अर्ब खुद बीमाशुल्क आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा १९.९३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले निर्जीवन र जीवन बीमा गरी कुल ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड र जीवन व्यवसायबाट ६९ करोड ९५  लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।

यस्तै जीवन बीमा र निर्जीवन बीमा दुवै व्यवसायबाट कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३१ करोड ६ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १४.७२ प्रतिशतले धेरै हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २७ करोड ७ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो। 

समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा १.०५ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा कम्पनीले ९२ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। निर्जीवन बीमा व्यवसायबाट कम्पनीले ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट १० करोड १० लाख ३० हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ। 

यसैगरी कम्पनीको बीमा कोषको आकार ३७.९७ प्रतिशतले बढेर २ अर्ब ३ करोड ५३ लाख ४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आ।व को सोहि अवधिमा यो रकम १ अर्ब ४७ करोड ५० लाख ९१ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १२.३४ रुपैयाँ, पिई अनुपात ६८.७०, प्रतिसेयर नेटवर्थ १५४.०५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७३.९९ रुपैयाँ रहेको छ।


Share this with your friends: