नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-01-06
नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको छैठौँ वार्षिक साधारण सभा काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा सम्पन्न भएको हो ।

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस सेयरपश्चात कम्पनीको साविक जारी तथा चुक्तापूँजीमा वृद्धि भई ११ अर्ब ६५ करोड कायम हुने र सोहि बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले ११ करोड ६५ लाख कित्ता सेयरमा विभाजन गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यसका साथै कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। 

सभामा आ.व २०७६र७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिएको छ। सभामा आ।व २०७७र७८ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। यस्तै नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनुका साथै नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु दिन प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल गत वैशाख २० गतेसम्म रहेकोमा सञ्चालक समितिबाट आगामी वार्षिक साधारण सभासम्मका लागि कार्यकाल थप गरिएको निर्णय अनुमोदन गरिएको छ । 


Share this with your friends: