नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब बढी, कुन क्षेत्रमा कति ?

2021-03-09
नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब बढी, कुन क्षेत्रमा कति ?

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ अर्ब बढी लगानी गरेको छ । कम्पनीले सो अवधिसम्म विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । 

बीमा समितिले उपलब्ध गराएको आँकडाअनुसार यस अवधिमा कम्पनीले नेपाल सरकारको बचत तथा ऋणपत्र, वाणिज्य बैंकको मुद्धती निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्र र ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गरेको छ । 

कम्पनीले यस अवधिसम्म सबैभन्दा धेरै लगानी क वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा गरेको छ । यस अवधिसम्म क वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा कम्पनीले १३ अर्ब ८ करोड ५० हजार रुपैयाँ लगानी गरेको छ । 

यस्तै ख वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा १ अर्ब २३ करोड रुपैयाँ र ग वर्गका बैंक तथा वित्तीय संस्थामा ७१ हजार रुपैयाँ लगानी गरेको छ । 

कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब २२ करोड रुपैयाँ,बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा १ अर्ब ३५ करोड ३९ लाख र सरकारी ऋणपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ ।  

 


Share this with your friends: